धर्मगुरु श्रीनिवासाचार्य गोलीकाण्डः आफैँले गोली हान्न लगाएको खुलासा !

बैशाख २५,बिराटनगर – हिन्दु धर्मगुरु श्रीनिवासाचार्य माथि गोली प्रहार भएको घटना उनकै योजनामा बनाइएको रहस्य खुलेको छ । देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो ।

गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको हो । उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य बाचकका रुपमा आएका बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्य माथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।

श्रीनिवासाचार्य माथि उनकै योजनामा चितवनको भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरीले करिब पाँच मिटरको दुरीबाट पाखुरामा लाग्ने गरी गोली हानेका थिए । यो कुरा चौधरीले मोरङ प्रहरीसँगको बयान र सोमबार भएको पत्रकार सम्मेलनमा पनि स्विकारेका छन् । त्यसैगरी गोली हान्न प्रयोग गरिएको पेस्तोल भने श्रीनिवासाचार्यका विश्वासपात्र नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीले उपलब्ध गराएको पनि खुलेको छ ।
अन्नपूर्णबाट