मोदीलाई हवाई स्कर्टिङ सहित चार तहको सुरक्षा

बैशाख २४, काठमाडौं – दुईदिने नेपाल भ्रमणमा रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘इन्डियन एयर फोर्स’को हेलिकोप्टरमा आउने भएका छन । गृह मन्त्रालयका अनुसार मोदी फोर्सको हेलिकोप्टरमा आउनेछन । बाँकी दुईवटा हेलिकोप्टरले मोदी सवार हेलिकोप्टरको दायाँ–बायाँ रहेर हवाई स्कर्टिङ गर्नेछन ।

मोदी भ्रमण सुरक्षामा खटिएका नेपाल प्रहरीका डिआइजी ठुले राईले प्रधानमन्त्री मोदीको भ्रमण दल तीनवटा हेलिकोप्टरमा जनकपुर आउने जानकारी दिए ।
जानकी मन्दिर दर्शनपछि मोदी सोही हेलिकोप्टरबाट काठमाडौं आउने भएका छन । तर, मुस्ताङको जोमसोम जाने क्रममा भने नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्नेछ । भारतीय पाइलट मुस्ताङको भूगोलमा अभ्यस्त नभएकाले नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्ने सेनाको तर्क छ ।

सुरक्षाकर्मीको चार घेरा
मोदीसँगै इन्डियन एयरफोर्सका कम्तीमा २५ सुरक्षाकर्मी आउनेछन। उनीहरू सबै सादा पोसाकमा रहनेछन । भ्रमणभर प्रधानमन्त्री मोदी सुरक्षाको पहिलो घेरामा उनीहरू नै रहनेछन। जनकपुर ओर्लिएपछि मोदी सुरक्षाको सम्पूर्ण कमान्ड नेपाली सेनाले सम्हाल्नेछ ।

सेनाको कम्तीमा एक प्लाटुन मोदी सुरक्षाको दोस्रो घेरामा रहनेछ । उनीहरू पनि सादा पोसाकमै रहनेछन् । त्यसपछिको तेस्रो सुरक्षा घेरामा नेपाली सेना र नेपाल प्रहरी रहनेछन् । यसका लागि सेनातर्फको कम्तीमा मेजरको कमान्डमा एक सय २५ सैनिक खटिनेछन ।