यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक

इमेलखवर—नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट गत चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै आज यातायात सञ्चालनमा रोक लगाएको छ ।
व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै महासंघले आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ ।
महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउनका लागि सरकार, व्यवसायी र उपभोक्ता रहने गरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारले अकस्मात् ढंगले निर्देशिका जारी गरेको भन्दै आफूहरुले सवारी संचालन बन्द गर्नुपरेको बताउनुभयो ।
अर्कातिर, कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई आज पनि निरन्तरता दिने भएका छन् । हिजो कम्पनीमा आबद्ध व्यवसायीको यातायात व्यवस्था विभागमा भएको छलफलपछि सेवा दिन तयार रहेको टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्यले जानकारी दिनुभयो ।
महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै चार लाख सार्वजनिक यातायात सञ्चालनमा छन् ।