आज २५६२ औं बुद्ध जयन्ती मनाइँदै

बैशाख १७, काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा करीब दुई हजार ६ सय वर्ष अघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागे । ६ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । छत्तीस वर्षका उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिएका थिए । जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ ।

“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरे, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुन सक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो”, बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामाले बताए ।

राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि (प्रज्ञा, शील र समाधि) पर्छन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् ।

यस वर्ष २५६२ औँ बुद्ध जयन्तीमा रुपन्देहीको लुम्बिनी, काभे्रको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहार लगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिन्छ । यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातु सहित प्रभातफेरी एवम शोभायात्रा निकालिन्छ । प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
रासस