सरकारको नीति तथा कार्यक्रम तयार : ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

बैशाख १४,काठमाडौँ – सरकारले उत्पादनशील रोजगारीमूलक र न्यायपूर्ण वितरण सहित ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सहित नीति तथा कार्यक्रमको तयारी गरेको छ । केपी ओली प्रधानमन्त्री भएको झण्डै अढाइ महिनापछि ल्याउन लागिएको नीति तथा कार्यक्रममा आठ प्रतिशतको आर्थिक वृद्धिदरबाट आगामी ९ वर्षमा अर्थतन्त्रको आकार दोब्बर बनाउँदै सन् २०३० सम्ममा नेपालीको प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर (२ लाख ५० हजार रुपैयाँ ) पुर्‍याउने लक्ष्य राखिएको छ ।

आगामी १० वर्षको विकास यात्रालाई ऊर्जा दशकको रूपमा अघि बढाउँदै देशैभर लोडसेडिङ अन्त्य गरी विद्युतमा आत्मनिर्भर हुने तर्फ ठोस कदम चालिने नीति तथा कार्यक्रमले जोड दिएको छ । खानेपानी तथा सरसफाइ सेवामा पहुँच नपुगेको जनसंख्यालाई राज्यका तीनै तहबाट सहअस्तित्व, समन्वय र सहकारिताको सिद्धान्तका आधारमा सबै नागरिकलाई खानेपानी तथा सरसफाइको पहुँच अभिवृद्धि गरिने लक्ष्य राखिएको छ ।

प्रशासनिक तहमा छलफल गरी तयार पारिएको आर्थिक वर्ष ०७५/७६ को प्रस्तावित नीति तथा कार्यक्रमलाई राजनीतिक तहबाट अन्तिम रूप दिइने प्रधानमन्त्री कार्यालयले जनाएको छ । नयाँ कार्यक्रममा सबैका लागि सुनिश्चित आवासको नीति अनुसार आवास अधिकार सम्बन्धी कानुन तर्जुमा गर्दै ज्येष्ठ नागरिक, दलित, लोपोन्मुख, विपन्न, सीमान्तकृत, लक्षित तथा जोखिममा रहेकाको लागि सुरक्षित, किफायती र वातावरणमैत्री आवासको पहुँच सुनिश्चित गरिने लक्ष्य छ ।

प्रस्तावित महत्वपूर्ण कार्यक्रम

– निजी तथा सहुलियतपूर्ण वित्तीय स्रोतको व्यवस्था

– जलविद्युत् तथा नवीकरणीय ऊर्जाको उपलब्धता वृद्धि र लागत कटौती गर्ने ।

– वैदेशिक लगानी आकर्षण गर्न आन्तरिक र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने ।

– वैदेशिक लगानीको माध्यमबाट स्थानीय साधन तथा पुँजी र प्रविधिको उपयोगमा जोड दिने ।

– आयात प्रतिस्थापन गर्ने वस्तु तथा सेवाको पहिचान, उत्पादन र विविधिकरणमा जोड दिइनेछ ।

– नेपालको उत्पादनलाई ब्रान्डिङ गरी कुटनीतिक नियोग, गैरआवासीय नेपाली तथा अन्य निकायको परिचालनमार्फत निकासी अभिवृद्धि गर्ने ।

– दुई ठूला छिमेकी मुलुकको बजारको उपयोग गर्ने ।

  • सरकारी तथा गैरसरकारी क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने ।
  • -मुलुकको भौगोलिक, जैविक, सामाजिक तथा सांस्कृतिक विविधताअनुकूलको उत्पादन तथा सेवाको विस्तार गर्ने । निजी क्षेत्रको सहजीकरण गर्न उच्चस्तरीय संयन्त्र गठन गर्ने र सार्वजनिक निजी साझेदारीमार्फत पूर्वाधार निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई परिचालन गर्ने ।
  • अन्नपूर्णबाट