रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलतर्फ, बायर्न म्युनिख २-१ ले पराजित

बैशाख १३, काठमाडौं – च्याम्पियन्स लिगमा दोस्रो सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को जित हात पारेको छ। रियलको जितमा मार्सेलो र असेन्सियोले गोल गरे।

घरेलु टोली बायर्नलाई जोसुवा किमिचले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रियलका किपर केलर नाभासको गलत बुझाईका कारण किमिचले बायर्नलाई अग्रता दिलाए। दाँया विङ्गबाट बल दौडाएका किमिचले असहज एङ्गलबाट आफैंले प्रहार गर्दै क्रसको आशा गरेका नाभासलाई बिट गर्दै गोल गरेका थिए। रियलका मार्सेलोले ४४ औं मिनेटमा गोल गर्दै पहिलो हाफ बराबरीमा सकाए। बक्स नजिकबाट बाँया खुट्टाको उनको उत्कृष्ट प्रहार गोलमा परिणत भयो।

दोस्रो हाफमा मार्को असेन्सियोले ५७ औं मिनेटमा रियललाई दोस्रो अवे गोल दिलाए। बक्सको बाँयाबाट फार पोस्टमा घरेलु टोलीका किपर उल्रेकलाई बिट गर्दै उनले रियललाई अग्रता दिलाए।

रियल र बायर्नबीचको दोस्रो लेगको खेल मेको पहिलो दिनमा हुनेछ। खेल नेपाली समय अनुसार रातीको १२:३० मा सुरु हुनेछ।