च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा लिभरपुलद्वारा रोमा ५-२ ले पराजित

बैशाख १२,एजेन्सी – मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनमा प्रेरित लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रोमाविरुद्ध ५-२ को अग्रता बनाएको छ। लिभरपुलको जितमा इजिप्टसियन विङ्गर सालाह र फरवार्ड रोबर्टो फर्मिनोले २ गोल र २ असिस्ट गरे।

खेलको सुरुआती २० मिनेटमा भ्रमणकारी रोमाले नियन्त्रण राखे पनि लिभरपुल त्यसपछि उत्कृष्ट रह्यो। खेलको २८ औं मिनेटमा साडियो मानेले लिभरपुललाई अग्रता दिलाउने राम्रो अवसर गुमाएपनि सालहले ३६ औं मिनेटमा विश्वस्तरिय गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। ३८ औं मिनेटमा डेजान लोभ्रेनले कर्नरमा गरेको हेडर मार्फतको प्रहार क्रसबारमा लाग्दै गोल हुन सकेन। पहिलो हाफको इन्जुरी समयमा सालाहले अर्को उत्कृष्ट गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। उनले रोमाका किपर एलिसन बेकरमाथिबाट चिप गर्दै गोल गरे।

पहिलो हाफमा २-० को अग्रता लिएको लिभरपुल दोस्रो हाफमा पनि खेलमा हावी रह्यो। दुई गोल गरेका सालाहको भूमिका लिभरपुलको अन्य दुई गोलमा पनि महत्वपूर्ण रह्यो। सालाहकै पासमा मानेले ५६ औं मिनेटमा तथा फर्मिनोले ६१ औं मिनेटमा गोल गरे।मिल्नरले ६९ औं मिनेटमा प्रहार गरेको कर्नरमा फर्मिनोले हेडर मार्फत गोल गर्दै लिभरपुललाई पहिलो लेगमा बलियो अग्रता दिलाए। यो सिजन उत्कृष्ट रहेको सालाहको यो ४३ औं गोल हो।

म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर इडेन जेकोले रोमालाई ८१ औं मिनेटमा गोल दिलाए। त्यस्तै जेम्स मिल्नरले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई ८५ औं मिनेटमा गोलमा परिणत गर्दै डिएगो पेरोटीले रोमालाई दोस्रो महत्वपूर्ण अवे गोल दिलाए।

दोस्रो लेगमा रोमाले लिभरपुललाई मे ३ मा निम्त्याउने छ। यसअघि क्वाटरफाइनलमा बार्सिलोनाविरुद्ध ४-१ ले पछि परेको अवस्थालाई घरेलु मैदानमा उल्टाउँदै रोमाले अन्तिम ४मा स्थान बनाएको थियो।