बाह्र वर्षमा निरंकुशता गयो, गएन सामन्तवादः लोकतन्त्र प्राप्तीका १२ वर्ष पूरा

बैशाख ११, काठमाडौँ – निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता मात्रै होइन, तीन तहको चुनावपछिको संविधान कार्यान्वयनले मुलुकमा राजनीतिक आन्दोलनलाई स्थापित गराइसकेको छ ।

गणतन्त्र स्थापना गरी नेपालको राजनीतिलाई नयाँ उचाइमा पुर्‍याउँदै सार्वभौमसत्ता, राजकीय सत्ता जनतामै स्थापित भएको दिनका रूपमा लोकतन्त्र दिवसलाई स्मरण गरिन्छ । तत्कालीन सात राजनीतिक दल र माओवादी विद्रोहीले १२ बुँदे सहमति गर्दै संयुक्त जनआन्दोलन गरेपछि लोकतन्त्र प्राप्त भएको थियो । यो आन्दोलनले विघटित संसद पुनःस्थापित गराएको थियो । पुनःस्थापित संसद्ले राजतन्त्रलाई निलम्बन मात्र गरेन, राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

संविधानसभाबाट संविधान निर्माण गर्ने, बृहत शान्तिसम्झौता मार्फत माओवादी युद्ध अन्त्य गर्ने, हतियार व्यवस्थापन, सेना समायोजन लगायत काम गर्दै माओवादीलाई राजनीतिका मूलधारमा ल्याई शान्ति सुव्यवस्था कायम गर्ने लोकतन्त्रका मूल कार्यभार थिए । मुलुक संविधानसभाबाट निर्माण भएको संविधान कार्यान्वयनको चरणमा छ ।

संविधानसभाबाट नयाँ संविधान निर्माण गर्न दशक बित्यो । संविधान अनुसार नै स्थानीय, प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न भएका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालका शब्दमा, लोकतन्त्रबाट प्राप्त उपलब्धि ढिलो भए पनि १२ वर्षको यो अवधिमा अहिले संस्थागत भएको छ । यसलाई लोकतान्त्रिक आन्दोलनको उपलब्धिपूर्ण राजनीतिक यात्राका रूपमा लिनु पर्ने खनालको तर्क छ ।

लोकतन्त्र दिवसलाई स्मरण गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘दुई , दुई पटक संविधानसभा चुनाव गरेरै भए पनि संविधान निर्माण गर्‍यौं । राजनीतिक अधिकारलाई संविधानमा सुनिश्चित गरेका छौं । जनता बलिया बनेका छन् । यो अवधि उपलब्धिमूलक रहन पुग्यो ।’ यति धेरै उपलब्धि प्राप्त हुँदा पनि लोकतन्त्र प्राप्तिपछि नेताहरूको आचरण, चालढालमा भने सुधार आउन नसकेको बुझाइ आन्दोलनमा सक्रिय नेता, नागरिक समाजका अगुवाको छ । तत्कालीन सात दल मध्येकै एक सद्भावना पार्टीका नेता भरतविमल यादव लोकतन्त्र प्राप्तिपछि पनि नेतामा लोकतान्त्रिक आचरणको भने अभाव देखिएकाले नेताको चरित्रमा सुधार नभए सम्म लोकतन्त्रको वास्तविक उद्देश्य पूरा नहुने बताउँछन् ।
अन्नपूर्णबाट