बैशाख १०,काठमाडौँ- युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति पाँच लाख सम्म ऋण प्रवाह गर्ने भएको छ । यस अघि प्रतिव्यक्ति दुई लाख दिने गरेको कोषले पाँच लाख सम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए ।
कोषले युवालाई उद्यम, कृषि लगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज) मा ऋण दिने गरेको छ । पहिले दुई लाख दिँदा बिना धितो दिने गरेकामा अहिले भने पाँच लाख सम्मको ऋण धितोमा दिने भएको हो ।
‘‘आज भन्दा १० वर्ष अघि दिइने रकमले अहिलेको परिस्थितिमा व्यवसाय गर्न कठिन भएको छ”, उनले भने, “त्यसैले महँगी अनुसार दुई लाख देखि पाँच लाख सम्म ऋण प्रवाह गर्ने छौँ।” कोषले गरिबी, पिछडिएका, सीमान्तकृत, कृषक मजदूर लगायतलाई स्वरोजगार बनाउनका लागि ऋण प्रवाह गर्ने उनले बताए ।
०६५ मा कोषले युवालाई व्यवसाय सञ्चालन गर्नका लागि दुई लाख सहुलियत दरमा ब्याज दिने गरेको थियो । यस्तै कोषले २० जना युवाको समूहलाई एक करोड सम्म सहुलियत दरमा ऋण प्रवाह गर्ने भएको छ । एकजनालाई पाँच लाखको दरले एक करोड सम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा दंगालले जानकारी दिए । कुनै ठाउँका युवा समूहलाई उद्यम सञ्चालन गर्नका लागि एक करोड सम्म दिने उनले बताए ।
रासस