भूकम्पमा क्षतिग्रस्त तीन हजार विद्यालय पुनःनिर्माण सकियो

बैशाख १०, काठमाडौँ – सरकारले भूकम्प गएको तीन वर्षमा तीन हजार ६१३ विद्यालय पुनःनिर्माण गरेको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आइतबार आयोजना गरेको ‘भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणको प्रगति र अबको कार्ययोजना’ अन्तरक्रियामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का योजना निर्देशक इमनारायण श्रेष्ठले तीन वर्षमा भूकम्पले क्षतिग्रस्त करिब नौ हजार विद्यालय मध्ये तीन हजार ६१३ मात्र निर्माण गर्न सकेको बताए ।

प्राधिकरणले तीन वर्षमा सरकार, गैरसरकारी संस्था (गैसस), निर्माण व्यवसायी र विद्यालय व्यवस्थापन समितिको सहयोगमा ती विद्यालय निर्माण गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त विद्यायल एक खर्ब तीन अर्बको लागतमा पुनःनिर्माण गरिएको हो । भूकम्पबाट क्षति पुगेका अझै करिब पाँच हजार ३०० विद्यालय पुनःनिर्माण हुन बाँकी छ ।

भूकम्प प्रभावित ३२ जिल्लाका सात हजार ९२३ विद्यालय क्षतिग्रस्त भएका थिए । ती मध्ये २१ हजार १६९ कक्षा कोठामा पूर्ण र १५ हजार ९९० कक्षाकोठामा आंशिक रुपमा क्षति पुगेका थियो । योजना निर्देशक श्रेष्ठका अनुसार एक हजार ७१९ विद्यालय निर्माणाधीन र ३२४ विद्यालय निर्माणको छनोट गरिएको छ ।

सरकारले विद्यालय व्यवस्थापन समिति मार्फत दुई हजार ५६१, निर्माण व्यवसायी मार्फत दुई र गैरसरकारी संस्था मार्फत एक हजार ५० विद्यालय पुनःनिर्माण गरेको हो । केन्द्रीय कार्यान्वयन इकाई योजना निर्देशक श्रेष्ठले तोकिएको समयसीमा भित्र सम्पूर्ण विद्यालयको पुनःनिर्माण सम्भव नभएकाले समय बढाइएको बताए । उनले भूकम्प गएको एक वर्ष सम्म नीतिगत काम गर्नु पर्ने भएकाले अर्को वर्षबाट मात्र काम भएको बताए । पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले २०७६ असार सम्म चार हजार ६०० विद्यालय पुनःनिर्माण गरि सक्ने बताए ।
रासस