निर्वाचन क्षेत्र कार्यक्रमको रकम ३ करोड बाट १० करोड पुर्याउन सांसदहरुको माग

बैशाख २,काठमाडौँ – निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन् । उनीहरूले कार्यक्रम अन्तर्गत यसअघि छुट्याइएको कुल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्‍याउन दबाब दिएका हुन् ।

सरकारले अघिल्लो संसद अन्तर्गत प्रत्येक २४० निर्वाचन क्षेत्रमा ३ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा ७ अर्ब २० करोड रकम विनियोजन गरेको थियो । यस बाहेक प्रत्येक सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाममा ५० लाख रुपैयाँ खर्च गर्न पाउने गरी ६०१ सदस्यका लागि ३ अर्ब ५० लाख रुपैयाँ पनि छुट्याएको थियो ।

सांसदहरूले भने अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट बढाइए हाल संघीय संसदमा कायम १६५ क्षेत्रका लागि १६ अर्ब ५० करोड रुपैयाँ छुट्याउनु पर्ने हुन्छ । प्रत्येक सांसदले ५० लाखको दरले खर्च गर्न पाउने गरी राखिएको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई पनि निरन्तरता दिए प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभाका २७५ सांसदका नाममा १ अर्ब ३७ करोड ५० लाख रकम छुट्याउनु पर्ने हुन्छ ।
नयाँ पत्रिकाबाट