पूरा होलान् रारामा ओलीले बाँडेका बग्रेल्ती सपना ?

बैशाख २,काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको रारा तालमा पुगेर मुलुकलाई पाँच वर्ष भित्र अनुभूत हुने विकास गरेर देखाउने घोषणा गरेका छन् । उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारा सहितको संकल्पको अवधारणा अघि सार्दै समृद्धिको आधारशीला खडा गर्ने युगिन दायित्व पुरा गरेर देशको मुहार फेर्ने विश्वास पनि दिलाएका छन् ।

‘म तपाईलाई आत्मा विश्वासका साथ भन्न चाहन्छु कि पाँच वर्षपछि नयाँ निर्वाचनमा तपाईँहरुका अगाडि आइपुग्दा हाम्रा काम र उपलब्धीले तपाईँहरुलाई आफ्नो अमुल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छन् । पाँच वर्ष भित्र देशको मुहार स्पष्ट अनुभूत हुने गरी बद्लिने छ, सकारात्मक दिशामा’ प्रधानमन्त्री ओलीले रारामा पुगेर भने, ‘मतपत्र सामान्य कागज मात्र होइन, निर्वाचन नयाँ युगको प्रवेशद्वार हो, प्रवेशद्धारमा तपाईको मत त्यही ताला खोल्ने साँचो हो ।’

प्रधानमन्त्री ओलीले नेपाल बन्ने कुरामा जनतालाई आश्वस्त दिलाएका छन् । ‘मैले पटक पटक भन्दै आएको छु, नेपाल बन्छ र बनाउनु पर्छ,’ उनले भने, हरेक चिजको सीमा र आयु हुन्छ, मान्छेको ज्ञान र सामर्थ्यको पनि सीमा हुन्छ, तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन, इमान र निष्ठाका साथ काम गर्नलाई कसैलाई अतिरिक्त प्रशिक्षणको खाँचो पर्दैन ।’

उनले नेपाल तीब्र विकासको गतिमा अगाडि बढ्ने बताउँदै समृद्धि र विकासमा सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय समुदायको पखाई रहेको बताए । ‘हामी बिनाकुनै बहाना र विलम्व तीब्र वेगमा अगाडि बढ्छौँ,’ उनले भने, देश निर्माणको लागि बलियो आत्मविश्वास छ । नेपालको भविष्य सुदृढ र उज्वल छ ।’ ओलीले सरकारले राष्ट्रियतालाई सुदृढ गर्दै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा स्वाभिमान र पहिचानलाई ‘उँचो’ बनाई छाड्ने प्रतिवद्धता जनाएका छन् । तर यी सपनाहरु कहिले पुरा होलान् वा नहोलान् त्यो त हेर्नै बाँकी छ ।
अन्नपूर्णबाट