५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति भएको छैन – खनाल

वैशाख २, विराटनगर -पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन् । विराटनगर विमानस्थलमा हिजो सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने हो अरु बाँकी सबै सञ्चारमाध्यमको हल्ला मात्र भएको प्रष्ट पारे ।

पार्टीका वरिष्ठ नेता खनालले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरु संगठनमा आपसी समझदारी चयन गर्ने बताए । उनले दुवै पार्टी बीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मिति समेत नसर्ने प्रष्ट पारे ।

नेता खनालले दलको एकीकरण सम्बन्धमा राजनीतिक र सांगठनिक प्रतिवेदन तयार रहेको र प्रतिवेदन जनयुद्ध सम्बन्धमा सकारात्मक रहको बताए । एक प्रश्नको जवाफमा उनले सचिव सरुवा सम्बन्धमा केही कार्य गर्दा कोही पनि कहिले पनि पूर्ण सन्तुष्टि हुँदैन भन्दै असन्तुष्टबाट नै राम्रो कामको शुरुवात हुने बताए । नेता खनालले वाम गठबन्धन सरकार भर्खरै निर्माण भएको छ भन्दै जनताले अनुभूति गर्ने विकास र मुलुकको आर्थिक समृद्धिमा सरकारले द्रुत गतिबाट कार्य गर्ने विश्वास व्यक्त गरे ।
रासस