मेलम्ची खानेपानी सुरुङको अन्तिम ब्रेक थ्रु २९ चैतमा हुने

चैत्र २७, काठमाडौँ – खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम  ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताएकी छिन् । नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले निरन्तरको  ‘फलोअप’ र निर्देशनले आयोजना  ‘ब्रेक थ्रु’को चरणमा पुगेको बताएकी हुन् । ‘मन्त्रालयमा आएपछि मैले सुरुङ खन्ने कामको निरन्तर फ्लोअप गरेँ, प्रगति विवरण लिएँ,’  उनले भनिन् । कामको प्रगति हेर्दा आगामी दशैं अघि वैकल्पिक मार्गबाट काठमाडौं सम्म मेलम्चीको पानी पुर्‍याउन सकिने उनले बताइन् । जनताको घरदैलोमा स्वच्छ खानेपानी पुर्‍याउने प्राथमिकता सँगसँगै अन्तर्राष्ट्रिय बजारमा खानेपानी बेचेर आयस्रोत बढाउने विषयमा समेत योजना बनाउने मन्त्री मगरले दाबी गरिन् ।

‘हिमश्रृङ्खलाबाट बगेको पानीलाई विदेशमा महंगो मूल्यमा बेच्न सकिन्छ,’ मन्त्री मगरले भनिन् , ‘यसरी सोच्दा खानेपानी उद्योग स्थापना हुने, रोजगारी सिर्जना हुने र आयआर्जन बढ्ने हुन्छ ।’ हिमश्रृङ्खलाबाट बगेको पानीको गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारमा रुचाउने गरिएको उनले बताइन् । वर्तमान सरकारमा ७ नम्बर प्रदेशबाट एक्लै मन्त्री भएकाले जनताको धेरै आशा पूरा गर्नु चुनौतिपूर्ण भएपनि स्यावासी पाउने गरी काम गर्ने मन्त्री मगरले बताइन् ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले मन्त्री मगरलाई सफल पार्न सबैले सहयोग गर्नु पर्ने बताए ।  ‘भेटघाट गर्ने मन्त्रालयमा भीडभाड गर्दा मन्त्रीलाई काम गर्न अप्ठ्यारो हुन्छ, ’उनले भने ,‘पार्टी पद्धतिबाट योजना ल्याएर ७ नम्बर प्रदेशलाई समृद्ध बनाउने गरी काम गर्नुपर्छ ।’ अन्नपूर्णबाट