द्विपक्षीय बैठकमा ओलीको जिज्ञासा– किन कार्यान्वयन हुँदैनन् आश्वासन ?

चैत्र २७, काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसहितको दुईपक्षीय बैठकमा जिज्ञासा राखे, ‘हतारिएर यो गर्छु र त्यो गर्छु भन्नुहुन्छ, व्यवहारमा उतार्नु हुन्न ।

आश्वासन दिएका विषय कार्यान्वयन गर्नु पर्दैन ?’ बैठकका एक सहभागीका अनुसार सुरुमा प्रधानमन्त्री ओलीले आफू ‘कूटनीतिमा अब्बल नरहेको’ भन्दै सीधा कुरा राख्न इच्छा व्यक्त गरेका थिए । प्रधानमन्त्री मोदीले खुलेर अनौपचारिक ढंगले धारणा राख्न आग्रह गरेपछि उनले उदाहरणसहित विषयहरू प्रस्तुत गरे ।

तीनदिने राजकीय भ्रमणका क्रममा भएको उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले भारतका तर्फबाट विकास आयोजनामा भएका लापरबाही, अस्पष्टता एवं अलमलबारे प्रस्ट पारेका थिए ।

बैठकका सहभागीका अनुसार नेपालमा दिगो सरकार नहुँदा कतिपय समस्या परेको भारतीय पक्षको भनाइको खण्डन गर्दै ओलीले भने, ‘समस्या दिगो सरकारको होइन, हाम्रो सोचको हो ।’ उनले थपे, ‘नेपालमा बलियो सरकार बनेको छ । लामो समयपछि राजनीतिक स्थायित्वको चरणमा हामी छौं । अब नेपालतर्फबाट कुनै पनि समस्या पर्दैन । भारतले पनि आफ्ना दृढता पूरा गर्न सक्नुपर्छ । बोलेर मात्र हुँदैन, व्यवहारमा उतार्नु आवश्यक छ ।’,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।