प्रचण्डले फेरि दोहोर्‍याएः केन्द्रमा बराबरी, बाँकी प्रभावका आधारमा

काठमाडौँ – माओवादीले एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बराबरी हैसियत हुनै पर्ने अडान फेरि दोहोर्‍याएको छ । अहिले एमाले–माओवादी पार्टी एकता अलग धारबाट आएका दुई कम्युनिस्ट पार्टी बीच हुन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मानजनक एकता गर्ने र दुई धार जोडने गरी दुई पार्टी एकता हुनु पर्ने माओवादीको ‘बटमलाइन’ भएको दोहोर्‍याएका हुन् ।

पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका पदाधिकारीलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै दाहालले आफूले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग फिप्टी, फिप्टी एकता प्रस्ताव राखिसकेको बताएका हुन् । केन्द्रमा बराबरी तथा जिल्ला तहमा संगठनको प्रभाव क्षेत्रका आधारमा पार्टी संगठनबीच एकता हुनु पर्ने माओवादी बटमलाइन भएको उनको भनार्इ थियो ।

‘यो पार्टी एकता हो। हामी दुईधारबाट आयौं, तत्काल देखिँदा चुनावमा उहाँहरू (एमाले) बढी हुनुहोला, उहाँहरू हिजो कम हुनुहुन्थ्यो । भोटको कुरा मात्रै मुख्य कुरा होइन । पार्टी एकता भनेको सम्मानजनक र अलग धार जोड्ने कुरा हो’, दाहालको भनार्इ उद्धृत गर्दै प्रेस सेन्टरका उपाध्यक्ष कमल गिरीले भने, ‘माथि केन्द्र सिंगो शरीरमा ५०,५० प्रतिशत माओवादीको बटमलाइन हो, हामी त्यो अडान छाड्दैनौं । नेता धेरै हाम्रा छन्, जनता धेरै एमालेका छन् । त्यो स्वाभाविक हो।’

दाहालले एमालेले विगतमा १० प्रतिशत पनि संगठन नभएका मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादीसँग एकता गर्दा समेत ५०,५० कै आधारमा गरेकाले अहिले पनि सम्मानजनक रूपमा नै एकता हुने जिकिर गरे । ‘ओलीजीसँग मैले कुरा गरिसकेको छु, यसमा एमालेले नमान्ने प्रश्नै छैन। संख्या ५०,५० को कुरा नै हो, हाम्रो अडान त्यसैमा हुन्छ। केन्द्रमा बराबरी, जिल्लामा बरु आफ्नो प्रभाव क्षेत्रका आधारमा एकता हुन्छ’, उनले भने।
अन्नपूर्णबाट