भारत भ्रमण उपलब्धिमूलकः प्रधानमन्त्री ओली

चैत्र २६, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताएका छन् । तीन दिने भारतको राजकीय भ्रमण पूरा गरी हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले रेलमार्ग, जलमार्ग, कृषि लगायत क्षेत्रमा महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको अवगत गराए ।

उनले निकट छिमेकी एवं अन्य मित्रराष्ट्रसँग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्ने वर्तमान सरकारको नीति रहेको धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “यस पृष्ठभूमिमा तथा हालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर भारतीय नेतासँग मेरो खुलस्त र सौहार्दपूर्ण रूपमा कुराकानी भयो ।”

“नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सो बारेमा तीन वटा अलग अलग संयुक्त घोषणा समेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ”–उनले भने । विषयगत रुपमा ऊर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउन आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने बारेमा दुवै पक्षबीच सहमति भएको उनले बताए ।

भ्रमणमा दुई मुलुकबीच ‘कनेक्टिभिटी’ प्रवद्र्धनका निमित्त सीमापार रेल, एकीकृत चेकपोष्ट एवं हुलाकी मार्ग सम्बन्धी परियोजनाको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ । उनले भने , “नेपालको भारतसँग विद्यमान बढ्दो व्यापार घाटा कम गर्ने विषय द्विपक्षीय छलफलका अलवा भारतीय व्यापारिक समुदाय, विद्वत वर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तक्रियामा समेत प्राथमिकताका साथ उठाएको छु ।” प्रधानमन्त्री ओलीले पारवहनलाई थप सहज तुल्याउन, बाढी तथा डुबान समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त निरीक्षण टोली खटाउन एवं महाकाली पुल लगायत अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिन दुवै पक्षबीच गम्भीर छलफल भई प्राथमिकताका साथ अगाडि बढ्ने सहमति भएको जानकारी गराए ।
रासस