के के छन् ओलीको भारत भ्रमणका तीन दिने कार्यक्रम ?

चैत्र २३, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान नौ बजे नेपाल एअरलायन्सको नियमित उडानबाट तीन दिने राजकीय भ्रमणमा भारत जाँदैछन् । ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवनमा पुग्नेछन् । त्यहाँ केही बेर आराम गरेपछि उनले भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले नेपाली दुताबासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार साँझ उनी नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कूटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएकोे छ ।

भारतीय समकक्षी मोदी र ओलीबीच शनिबार मात्र औपचारिक भेटवार्ता हुनेछ । बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नेछन् भने त्यसपछि भारतीय सेनाले ओलीलाई उच्च सैनिक ‘गार्ड अफ अनर’ लिएपछि प्रधानमन्त्री ओलीसँग भारतका राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि ओली राजघाटस्थित माहात्मा गान्धीको समाधीस्थल पुग्नेछन् । उनले त्यहाँ दीप प्रज्वलन गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा सुरुमा दुई प्रधानमन्त्री बीच एक्ला एक्लै वार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डल सहितको औपचारिक छलफल हुनेछ । दिल्लीबाटै प्रधानमन्त्रीद्वयले अरुण तेस्रो जलविद्युत आयोजना र वीरगञ्जमा रहेको संयुक्त चेकपोष्टको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । हैदरावाद हाउसमै संयुक्त पत्रकार सम्मेलनको आयोजना हुनेछ जसलाई दुबै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम तय भएको छ भने भारतीय नेताले पनि शनिबार नै ओलीसँग भेट गर्नेछन् । यस्तै इण्डिया फाउण्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि ओली सहभागी हुनेछन् । ओलीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् भने राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन् । दिल्ली भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम छ । उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि विश्व विद्यालयको दीक्षान्त समारोहमा उनी सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीलाई उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधी उपाधि दिनेछ । प्रधानमन्त्री सोही दिन साँझ स्वदेश फर्किनेछन् ।
अन्नपूर्णबाट