यस्तो छ ३ नम्बर प्रदेशको राजधानी काभ्रे सार्न जिल्लावासीको तयारी

चैत्र २०,काभ्रे – प्रदेश नम्बर ३ को राजधानी काभ्रेलाई बनाउन प्रस्ताव दर्ता गरे लगत्तै जिल्लामा रहेका उद्योगी ब्यवसायी तथा विभिन्न संघ संस्थाहरुले तयारी शुरु गरेका छन् । प्रदेश राजधानीका लागि आवश्यक पर्ने पूर्वाधार लगायतका अन्य ब्यवस्थापनको कार्य शुरु भएको नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले बताए ।

जिल्लाबाट निर्वाचित प्रदेशसभाका सांसद चन्द्र लामाको प्रस्तावमा रत्न ढकाल, बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल समर्थक रहेर प्रदेश सभामा काभ्रे जिल्लालाई प्रदेश ३ को राजधानी बनाउने प्रस्ताव दर्ता भएको छ । काभ्रे उद्योग बाणिज्य संघले प्रस्ताव दर्ता गराउने सांसदहरुलाई समेत बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

काभ्रे उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा जिल्लाबाट निर्वाचित सासंद गोकुल बास्कोटा संचार तथा सूचना प्रविधि राज्यमन्त्रीमा नियुक्ति भएपछि बधाई तथा शुभकामना आदान प्रदान र बधाई ब्यक्त गर्दै महासंघका केन्द्रिय सदस्यले हरेक हिसावले उपयुक्त काभ्रे जिल्लाका सम्भावनाहरुलाई थप प्रभावकारी बनाउन राज्यको थोरै मात्र सहयोग आवश्यक भएको बताए ।

यता प्रदेशको राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरुको तयारी शुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौड्यालले प्रदेशको स्थायी राजधानी नीति, विधि र संविधान अनुसार हुने बताईरहँदा राजधानीको आकाँक्षा राख्ने जिल्ला काभ्रेले त्यसको तयारी शुरु गरेको हो । केहि जिल्लाका बाहेक अधिकांश जिल्लाका सांसदहरु प्रदेशको राजधानी मकवानपुर बाहेक अन्यत्र हुने बताउँदै आईरहेका बेला काभ्रे जिल्लामा राजधानीका लागि आईटी पार्क लगायतका भौतिक संरचनाहरु तयारी गरिएको छ ।

आईटी पार्क क्षेत्रमा प्रदेश राजधानी राख्दा जम्मा कायम भएको १ सय ९२ रोपनी जग्गामा थप संरचना समेत बनाउन सकिने तथा प्रदेश सभाको लागि थप आवश्यक जग्गा समेत लिनको लागि पर्याप्त सार्वजनिक जग्गाहरु वरिपरी रहेको प्रतिवेदन तयार भएको छ । साथै तत्कालको लागि आवास भवनहरु समेत उपलब्ध रहेको र एउटै क्षेत्रबाट सरकारी सेवा समेत प्रदान गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । भवन डिभिजन कार्यालय काभ्रेले तयार गरेको प्रतिवेदनमा आईटी पार्कको मुख्य भवनको पहिलो तल्लामा मुख्य मन्त्रीको कार्यालय राख्न सकिने उल्लेख गरिएको छ । ८ वटा कोठा रहेको उक्त तल्लामा १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।