काँग्रेस नेता खड्काको पार्थिव शरीर काठमाडौं ल्याइयो, आज अन्तिम संस्कार गरिने

चैत्र १८, काठमाडौँ – भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार काठमाडौं ल्याइएको छ । खड्काको पार्थिव शरीर राति १०ः३० बजे नयाँदिल्लीबाट काठमाडौं ल्याइएको नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार खड्काको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आइतबार बिहान ९ः०० देखि १ बजे सम्म सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ भने त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । मिर्गौला र छातीको संक्रमणबाट केही वर्ष देखि पीडित ६७ वर्षीय खड्काको शुक्रबार साँझ निधन भएको थियो ।