क्रिकेट रंगशाला बनाउन धुर्मुसद्धारा भक्तपुरको १ सय २४ रोपनी जग्गाको अवलोकन

चैत्र १८, काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सिताराम कट्टेल (धुर्मुस) ले प्रक्रिया अगाडि बढाएका छन् । बिहीबार रंगशाला बनाउने घोषणा गरेसँगै धुर्मुसले प्रक्रिया अगाडि बढाएका हुन् । उनले शनिवार भक्तपुरको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको १ सय २४ रोपनी जग्गा अवलोकन गरेका छन् ।

धुर्मुससँगै जग्गा अवलोकन गर्न प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलपनि गएका थिए । जग्गाको अवलोकन गर्दै धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण स्थल छनोटको काम सुरु गरिएको भन्दै उपयुक्त स्थान रहेको खण्डमा चाँडै निर्माण कार्य अगाडि बढाईने बताए । उनले कुनै क्षेत्रमा उपयुक्त जग्गा रहेको खण्डमा धुर्मुस सुन्तली फाउण्डेसनलाई जानकारी गराउन सबैमा आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्री पौडेलले जनाएका छन् । यसअघि शुक्रबार धुर्मुसले प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेर रंगशाला निर्माणको विषयमा छलफल गरेका थिए छलफलका क्रममा प्रधानमन्त्री ओलीले निर्माण प्रक्रिया अगाडि बढाउन भन्दै सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए ।