पार्टी एकताका बारेमा प्रचण्डको पछिल्लो अभिव्यक्ति यस्तो : सम्मानजनक भए मात्र एकता !

चैत्र १४, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले विचार र संगठन संख्यामा सम्मानजनक सहमति पछि मात्र एकता हुने बताएका छन् । दाहालले बरु दुई चार दिन पार्टी एकता पछाडि धकेलिने तर दुवै पार्टीको विचार र संगठनमा ठेस आउने गरी पार्टी एकता नहुने समेत स्पष्ट पारेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसै महिना अन्तिम साता भारत भ्रमण अघि नै एकता घोषणा गर्ने तयारी गरिरहेकै बेला दाहालले भने सम्मानजनक सहमति नभएको अवस्थामा तत्काल एकता नहुने स्पष्ट पारेका हुन् ।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी नेतालाई राजधानीमा आयोजित ‘गोप्य प्रशिक्षण’ मा अध्यक्ष दाहालले पार्टी एकतामा तल्लो देखि माथिल्लो कमिटीसँग ‘फिप्टी–फिप्टी’ हुने बताएको एक विद्यार्थी नेताले जानकारी दिए । गत मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६०/४० र राष्ट्रिय सभा निर्वाचनमा ७०/३० को अनुपातमा उम्मेदवारी दिएका थिए । अध्यक्ष दाहालले भने प्रशिक्षणमा दुई पार्टी बीच ५०/५० प्रतिशत संख्यामा एकता हुनु पर्ने अडान प्रस्तुत गरेका थिए ।

‘संख्याको हिसाब गर्ने हो भने २०६४ सालमा एमाले भन्दा हाम्रो पार्टी ठूलो थियो, अहिले एमाले छ,’ प्रशिक्षणमा दाहालको भनाई उद्धृत गर्दै एक विद्यार्थी नेताले भने, ‘संख्या गौण हुनेछ र बराबरी संख्यामा सम्मानजनक रूपमा पार्टी एकता हुन्छ, नत्र हुँदैन ।’ दाहालले तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको पार्टी सानो छँदा पनि ‘फिप्टीफिप्टी’मा एकता भएको उदाहरण दिँदै एमाले–माओवादी केन्द्र एकता पनि ‘फिप्टी–फिप्टी’मै हुने बताएका थिए । माओवादी केन्द्रबाट ९९ र एमालेबाट २०६ को संख्यामा केन्द्रीय समिति बनाउने, १०० को संख्यामा पोलिटब्युरो र ३५ को संख्यामा स्थायी समिति बन्ने विषय खण्डन गर्दै ‘फिप्टी– फिप्टी’ नभएको खण्डमा एकता नै नहुने समेत जिकिर गरेका छन् । दाहालले सम्मानजनक ढंगमा कुराकानी अघि बढेमा केही दिनमै एकता हुने, नत्र छलफल लम्बिने पनि उल्लेख गरेका छन् ।
राजधानीबाट