आधा-आधा हिस्साले अर्को लफडा सुरुः ओलीको यस्तो तयारी

चैत्र १३,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानु अघि नै पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्दा आधा-आधा गर्नुपर्ने बहस चर्किएको छ ।

एमालेले संगठनको आधारमा पार्टी एकता गर्नुपर्ने अडान अगाडि सारेको छ भने माओवादी पार्टी एकता नै हुने भए पछि आधा-आधा हुनुपर्ने अडान राखेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित कार्यदलमा सांगठनिक विषयमा ६०/४० कै आधारमा पार्टी एकता गर्नुपर्नेमा एमालेले जोड दिएको माओवादी केन्द्रका एक नेताले बताए ।

ती नेताले भने, ‘समानताको आधार पार्टी एकता हुने हो, निर्वाचनको क्रममा उम्मेदवार बाँडफाँडमा गरेजस्तो पार्टी एकता गर्दा राम्रो सन्देश जाँदैन ।’

६०/४० कै आधारमा पार्टी एकता गर्ने प्रस्ताव एमालेले अगाडि सारे पनि माओवादी केन्द्रले भने बराबरीको संख्यामा पार्टी एकता हुनुपर्ने अडान लिएको बताइएको छ ।

जसको कारण केन्द्रीय सदस्यको संख्या कत्रो बनाउने भन्ने विषयमा समेत दुई पार्टीबीच सहमति जुट्न नसकेको बताइएको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पार्टीबीच एकता गरेर ठूलो पार्टीको अध्यक्षको हैसियतमा भारत भ्रमणमा जाने तयारीगरेका छन् ।

भारत भ्रमण अघि नै एकता प्रयास गर्ने प्रस्ताव स्वयम् अध्यक्ष ओलीले नै राख्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।