माओवादीले आफ्ना मन्त्रीहरुको निगरानी गर्ने

चैत्र ६, काठमाडौँ – माओवादी केन्द्रका शीर्ष नेताले आफ्ना मन्त्रीका निगरानी गर्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र सरकारमा पार्टीको नेतृत्व गरेका गृहमन्त्री राम बहादुर थापाले मन्त्रीहरूको काम कारबाहीको निगरानी गर्न लागेका हुन् । गृहमन्त्री थापाको सरकारी निवास पुल्चोकमा अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई कडा निर्देशन दिँदै आफूखुसी काम गर्ने छुट कुनै पनि मन्त्रीलाई नभएको चेनावनी दिँदै शीर्ष नेतृत्वले निगरानी गर्ने बताए ।

त्यसका लागि पार्टीले ‘सरकार सञ्चालन सम्बन्धी कार्यविधि’ नै तयार पार्ने दाहालले बताएका थिए । ‘सरकारमा मन्त्रीहरूले के–कस्ता काम गर्ने, कसरी आफ्ना कामलाई प्रभावकारी बनाउने भन्ने विषयमा पार्टीले सरकार सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधि नै बनाउँछ’, अध्यक्ष दाहालको भनार्इ उद्धृत गर्दै कृषि भूमिव्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले भनिन्, ‘त्यस्तो कार्यविधि मन्त्रीलाई पार्टीले बाँध्ने एउटा आचारसंहिता पनि हुन्छ ।’

दाहालले साँझ ७ बजे देखि २ घण्टा सम्म आफ्ना मन्त्रीलाई मन्त्रालयको संरचना, काम गर्ने शैली र अपनाउनु पर्ने आचारसंहिताका विषयमा केन्द्रित रहेर निर्देशन दिएका हुन् । बैठकमा माओवादीका ७ मन्त्री र एक राज्यमन्त्री सहभागी थिए। ‘विगतमा धेरै पकट पार्टी सरकारमा गयो, धेरै नेता साथीहरू मन्त्री पनि हुनु भयो, तर त्यसबेला के के भयो–भयो, जनताले अनुभूति हुने गरी काम गर्न पनि सकिएन’, दाहालको भनार्इ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘अब स्थायी सरकार छ, पार्टी, संगठन, आन्दोलन र जनताले अनुभूति हुने गरी देखिनु पर्छ, अगतिलो काम गर्ने छुट कसैलाई छैन ।’
अन्नपूर्णबाट