कांग्रेसको प्रतिपक्षी भुमिका : एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति

चैत्र ४,काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने समर्थन गर्दै आएको छ ।

गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदवार दिएर पार्टी एकता प्रक्रिया अघि बढाएका एमाले र माओवादी केन्द्रलाई कांग्रेसले फरक दृष्टि र व्यवहार गरेको छ । दुई दल बीच पार्टी एकता असफल भएको अवस्थामा माओवादीलाई साथ लिएर एमालेलाई एक्ल्याउने रणनीतिका साथ कांग्रेसले माओवादीसँगको सम्बन्धलाई बिगार्न नचाहेको कांग्रेसकै नेताहरू स्वीकार गर्छन् ।

विभिन्न संवैधानिक पदमा एमाले तर्फका उम्मेदवारलाई कांग्रेसले निर्विरोध हुन दिएको छैन । तर गठबन्धनकै माओवादीतर्फका उम्मेदवारलाई भने कांग्रेसले निर्विरोध बन्ने अवसर साथै समर्थन समेत गर्दै आएको छ । गत २६ फागुनमा सम्पन्न सभामुखको निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर महरालाई कांग्रेसले समर्थन गरेको थियो । तर एमालेको भागमा परेको उपसभामुखको निर्वाचनमा कांग्रेसले शिवमाया तुम्बाहाङ्फेलाई उम्मेदवार बनाएकोमा कांग्रेसले पार्टीका तर्फबाट पुष्पा भुसाललाई अघि सारेर उपसभामुख निर्विरोध बन्न दिएन । महरालाई समर्थन गर्दै कांग्रेस नेता मीनेन्द्र रिजालले संसद साझा थलो भएकाले सर्वसम्मत बनाउन समर्थन गर्ने जनाएका थिए । तर कांग्रेसले एमालेको भागमा परेको उपसभामुखमा भने उम्मेदवारी दिएर निर्वाचन गर्न बाध्य बनायो । वाम गठबन्धनका कारण उपसभामुखमा पनि तुम्बाहाङ्फे विजयी बनिन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि कांग्रेसले एमालेको भागमा परेको उम्मेदवारमा उम्मेदवार उठायो भने माओवादीको भागमा परेको उम्मेदवारीमा निर्विरोध बनाइदिएको छ । एमाले र माओवादी केन्द्र बीच शक्ति बाँडफाँटमा राष्ट्रपति पद आफ्नो भागमा परेपछि एमालेले विद्या देवी भण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउने निर्णय ग¥यो । कांग्रेसले भने राष्ट्रपतिमा कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनायो । एमालेको भागमा परेको राष्ट्रपतिका विरुद्ध उम्मेदवारी दिएको कांग्रेसले माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पदमा भने उम्मेदवारी नै दिएन । शनिबार उपराष्ट्रपति पदका लागि मनोनयनको कार्यतालिका रहेकोमा कांग्रेसले उम्मेदवारी नदिएर निर्विरोध बनाइदिएको छ । माओवादी केन्द्रका तर्फबाट नन्दकिशोर पुन आज (आइतबार) निर्विरोध पुनः उपराष्ट्रपति चुनिँदै छन् ।
राजधानीबाट