देशको व्यापारघाटा दैनिक रुपमा वढ्दै, यसवर्ष १८ प्रतिशतले वढ्यो

चैत्र ४, काठमाडौं – देशको व्यापारघाटाले उच्च गति लिंदै छ । दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशा जनक निर्यातले यसवर्षको सात महिना मै व्यापारघाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउन देखि माघ सम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो । निर्यात भने ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार रुपैयाँको मात्रै भएको छ । निर्यात १३ प्रतिशतले वृद्धि भएको छ भने आयात १८ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार सरकारका निर्यात वृद्धिका प्रयासले सार्थकता पाउन सकेका छैनन्, मुलुक आयातमुखी बन्दै गइरहेको छ ।

स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम नगरिनु, उत्पादन भएका सामाग्री निर्यात हुन नसक्नु र आयातित सामग्रीमा परनिर्भरता बढिरहनुले बर्सेनि व्यापार घाटा चुलिँदै गएको हो । सात महिनामा सबै भन्दा बढी ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ । दोस्रो बढी आयात हुने सामग्री मेसिनरी उपकरणका पार्टपुर्जा हुन् । ७० अर्ब ७ करोड रुपैयाँ बराबरका मेसिनरी उपकरणसँग सम्बन्धित भित्रिएका छन् । ६२ अर्ब ९ करोड रुपैयाँ बराबरका फलाम तथा स्टिल सामग्री आयात भएका छन् । करिब ५० अर्ब रुपैयाँ बराबरका सवारी साधन ल्याइएको छ । त्यस्तै विद्युतीय सामग्री ४५ अर्ब २६ करोड रुपैयाँको भित्रिएको छ । आयात भन्दा निर्यातमा जोड दिन सकिने हो भने देशको व्यापारघाटा कम हुने अवस्था भएपनि अहिले त्यो सम्भावना नभएको बताइएको छ ।