मालागालाई बार्सिलोनाले हरायो २- ० ले 

काठमाडौं, २७ फागुन –  स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । लियोनल मेस्सीबिना मैदान छिरेको बार्सिलोनाले मालागालाई २-० ले हरायो ।

तेस्रो छोरो जन्मिएका कारण मेस्सी विदामा थिए । बार्सिलोनालाई जिताउन लुइस स्वारेज र फिलिप कोन्टिन्होले एक-एक गोल गरे । बार्सिलोनाले १५ औं र २८ औं मिनेटमा मालागालाई गोल हान्यो ।

पहिलो हाफको ३० मिनेटतिर गार्सिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मालागा १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको २८ खेलबाट ७२ अंक भएको छ । एथलेटिको मड्रिड ६१ अंकसहित दोस्रो र रियल मड्रिड ५७ अंकसहित तेस्रो स्थानमा छन् ।

गएराति नै भएका अन्य खेलमा भ्यालेन्सियाले सेभिल्लालाई २-० ले र लेभान्टेले गेटाफेलाई १-० ले हराएका छन् ।