इकान्तिपुर डटकमबाट साभार
काठमाडौँ — के खादै हुनुहुन्छ ? जे खादै हुनुहुन्छ । त्यसको स्वाद त जिब्रोले सजिलै पाउछ । अझ त्यस परिकारको उद्गम थलो र विशेषता बारे थाहा पाउन पाए रमाइलै हुन्छ होला ।
तस्बिर : विद्या राई । कान्तिपुर ।
ज्ञान वर्धक खानपिन संस्कृति बसाल्न काठमाडौका सेफ बिक्रम गिरीले स्वअध्ययनमार्फत प्रयास गर्दै छन्। उनी परिकारको स्वाद जिब्रोमा मात्रै सिमित राख्न चाहदैनन्। जुन कुरा उनी खादै छन् त्यसको नालीबेली नबुझेसम्म पेट भरिदैंन, उनी भन्छन्।
परिकारको आफ्नै विशेषता र उद्गम थलो हुन्छ भन्ने मान्यता उनको छ। त्यसैले उनी आफुले चाखेका सबै परिकारका बारेमा जानकारी बटुल्न इच्छुक छन्। झन्डै डेढ दशक कुकीङ पेशा अंगाल्दै आएका बिक्रमलाई परिकारका विशेषता जान्नु पर्छ भन्ने धारणा पछि पलाएको हो। उनी अहिले सालिग्राम भिजेलमा रहेको म्यानिज इट्रि एन्ड तापस बारका सेफ हुन्। हुनत त त्यहाँ उनले सर्भ गर्ने फुड ड्रिंस प्राय सबै विदेशी हुन्छन्। उनको चाहना चाहि नेपाली परिकारको उत्पत्ती सकेसम्म जानकारी बटुल्नु हो।
यसै विषयमा उनले केहि वर्षदेखि अध्ययन गरेर पुस्तक निकाल्ने तयारी गर्दै छन्। ‘टेस्टीङ इज विलिभिङ’ शिर्षकमा उनले थुप्रै नेपाली परिकार बारे अध्ययन गरेर पुस्तक प्रकाशन गर्ने योजना रहेको बताए। ‘इडिटिङको पार्ट बाँकी छ’, उनी भन्छन्, ‘खास गरि नेपाली परिकारको कल्चर र इतिहास स्वअध्ययन गरेर राखेको छु।’
बिक्रमको पुरै दिन भान्सामा बित्छ तैपनि फुर्सद पायोकी उनी आफ्नो रुचीको विषयमा अधययन सुरु गरिहाल्छन्। उनले खाना र परिकारको ज्ञान हासिल गर्न विभिन्न पुस्तक अध्ययन गरेको बताए। साथै इन्टरनेटमा पनि उनी फुड कल्चरकै विषयमा सर्च गर्छन्।
कुकिङसंग उनको निकटता सुरुमै जोडिएको भने होइन्। सैनिकका छोरो भएकाले लाहुरे बने हुन्थ्यो भन्ने परिवारको उनी प्रति आशा थियो। घरमा चियाको पानी पनि उमाल्न जांगर नगर्ने विक्रमले होटल लाईनमा भविष्य बनाउने त कल्पना समेत गरेका थिएनन्। न डाक्टर न इन्जीनियर। के गरेर जीवन धान्ने?
उनका अंकल होटल लाईनमा थिए। उनकै बाटोमा जानी न जानी बिक्रम होमिए। काम प्रतिको लगावले उनलाई खानाको अन्य पक्षमाथि खोजीनीति गर्न मन लाग्यो। यसै सोचलाई सार्थकता दिन उनी परिकार अध्ययन गर्न थालेको बताउँछन्।
१.पक्कु (नेपाली परम्परागत भाडो भड्डुमा पकाइने मासुको परिकार)
२.मकैको फाँडो
३.ज्वानोको झोल
४.क्वाटीको सुप
५.चटामरी बारा
६.जोगी भात
७. गुन्द्रुक
८. चुकौनी अचार
विक्रमले अहिलेसम्म खोजका विभिन्न परिकार मध्ये यिनै महत्वपुर्ण मान्छन्। खास गरि चुकौनी र गुन्द्रुकबारे भने उनले पछिल्लो समय अनुसन्धान गरेका हुन्। पाल्पा जिल्लाबाट सुरु भएको चुकौनी अचार खास गरि मगर समुदायको खानपिन संस्कारबाट उत्पत्ती भएको बिक्रमले बुझाइ छ। दहिमा आलु झानेर बनाईने अचार नै चुकौनी हो।
त्यस्तै, बिक्रमले नेपालको प्राचीन खाना जोगी भात भनेर दावा गर्छन्। उनले अध्ययन गरे अनुसार जोगीहरुले माग्दै हिड्ने क्रममा विभिन्न थरीका चामल, दाल एक साथ झोलीमा थाप्छन्। त्यो छुट्टाउन पनि गाह्रो पर्छ। बाटोमा हिड्दा हिड्दै एकै ठाउ मिसिएको अन्नलाई पकाएर जोगीहरुले खाने गर्थे। ‘त्यसलाई खिचडि भन्न मिल्दैन’, उनी भन्छन्, ‘यसको स्वादै बेग्लै हुन्छ।’
त्यस्तै, गुन्द्रुक नेपालीको मौलिक परिकार मानिन्छ। यसको उत्पत्तीसंग नेपाल एकिकरण र पृथ्वी नारायण शाहसम्मको इतिहास जोडिएको बिक्रमले सुनाए। पृथ्वी नारयाण शाहले दोस्रो पटक किर्तिपुर आक्रमण गर्दा अन्न र तरकारी कमी हुँदै गयो। हरियो साग ओइल्याउन हालेर पहेलो भएछ। त्यसलाई विकल्पको रुपमा भाडामा राखी केहि दिन अमिलो भएपछि पानीमा उमालेर खाने चलन सुरु भयो।
हल्का अमिलो स्वादको तरकारी मिठो लाग्न थाल्यो। अनि गुन्द्रुक लोकप्रिय बन्दै गएको विक्रम बताउँछन्। अध्ययनका आधारमा बिक्रमले नेपाली परम्परागत खानामा पुर्ण पौष्टिक आहार हुने दावी गरे। नेपाली खानालाई विश्वस्तरमा प्रचारप्रसार गर्ने उदेश्यमा बोकेको संस्था ‘ग्लोबलाइजेसन अफ नेप्लीज कल्चर एन्ड कुजिन’ मा बिक्रम सदस्य छन्। उनले अहिलेसम्म २३ वटा खानाको इतिहास अध्ययन गरेका छन्। अहिले त्यही खानपिनको इतिहाससहितको पुस्तक निकाल्ने धुनमा लागेका छन्। जसका लागि उनी अब सुदुरपश्चिम भेगमा पाइने नेपाली खानपानको विषयमा खोजी गर्न लागेका छन्। ‘सुदुरपश्चिम तिर पुगेको छैन’, उनले भने, ‘अब त्यहाँको टिपिकल परिकार खोज्ने जर्मको गर्दै छु।’
प्रकाशित : फाल्गुन २४, २०७४ १५:४७