नयाँ सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्ण बहादुर महरालाई अगाडि सार्ने तयारी

काठमाडौं – माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्ण बहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ । एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भए अनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो । यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन । शुक्रबार बिहान शीर्ष नेताको बैठक बसी महराको नाम अनुमोदन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन् ।

नेताहरूसँग अनौपचारिक छलफलक्रममा दाहालले महरालाई सभामुखको जिम्मेवारी दिने योजना सुनाइसकेको खुमलटार स्रोतले बतायो । सभामुखमा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई जिम्मेवारी दिन एमालेले माओवादीसँग अन्तिम सम्म पनि छलफल गरेको थियो । बिहीबार साँझ पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहाल बीच प्रधानमन्त्री निवास बालुवाटारमा नेम्बाङको व्यवस्थापनको विषयलाई लिएर छलफल भएको थियो । छलफलमा सभामुख माओवादीलाई नै दिन ओली तयार भएको बताइएको छ ।

शनिबार दिउँसो १ बजे संसदमा सभामुखका लागि निर्वाचन गर्ने संसद्को कार्यसूची छ । शुक्रबार (आज) बिहान १० बजे देखि १ बजे सम्म सभामुखको उम्मेदवारी मनोनयनको कार्यसूची संसद सचिवालयले बनाएको छ । माओवादी भित्र सभामुखका लागि महराका अतिरिक्त नेताहरू देव गुरुङ, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, लेखराज भट्ट देखि पूर्वसभामुख ओनसरी घर्ती सम्म आकांक्षी छन् । तर अध्यक्ष दाहालले वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (बादल) लगायत नेतासँगको अनौपचारिक छलफलपछि महरालाई अगाडि सार्न लागेका हुन् ।
अन्नपूर्णबाट