सीमानाकाका नेपालीलाई सधैंको सास्ती

फागुन २५, दार्चुला – दार्चुलाको उत्तरी व्यास गाउँपालिकाका बासिन्दा भारतीय सीमा क्षेत्रमा अनेकौं समस्या भोग्न बाध्य छन् । यहाँका नागरिकले भारतीय प्रशासनबाट विभिन्न दुव्र्यवहार भोग्न बाध्य भएको गुनासो गरेका छन् । भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार, तुइन काटिने, सुरक्षा जाँचका नाममा खानतलासी, माल–सामानमा रोकतोक तथा यात्रा अनुमतिपत्रको समस्या भोग्नु परिरहेको स्थानीयको भनार्इ छ ।

पछिल्लो समय भारतीय पक्षले नेपालतिर मानवबस्ती नभएको तथा राज्यको उपस्थिति नभएको व्यास गाउँपालिका–२ ताम्पाकु, घाटबगर, दोपखे नज्यगं क्षेत्रमा नेपाली भूमिको प्रयोग तथा प्राकृतिक साधनको समेत दोहन गरेको तथ्य खुलेको छ । भारतमा सडक निर्माणका बाहानामा नेपाली भूमिको दोहन समेत गरिरहँदा नेपाल सरकार रमिते बनिरहेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिंह धामीको आरोप छ ।

सीमापारि निर्माण हुने सडकमा प्रयोग गरिएका विस्फोटक पदार्थले नेपालतर्फ गम्भीर क्षति पुग्ने गरेको छ भने वन पैदावार तथा वन्यजन्तुको समेत चोरी–सिकार हुने गरेको छ । भारतीय पक्षले नेपाल सरकारको अनुमति बिनै महाकाली नदीमा एकतर्फी पुल बनाई नेपाली भूमिमै आएर बाटो बनाएको र डोजर प्रयोग भएको घटना प्रकाशमा आएसँगै यससँगै जोडिएका अन्य तथ्य समेत सतहमा आउन थालेका छन् ।
अन्नपूर्णबाट