श्वेतपत्र ल्याउने तयारीमा अर्थमन्त्री डा खतिवडा

काठमाडौं, २२ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक श्वेतपत्र सार्वजनिक गर्ने भएका छन् । मुलुकको वर्तमान आर्थिक स्थिती र  भविष्यमा चाल्नुपर्ने रणनीति तय गर्न अर्थमन्त्री खतिवडाले श्वेतपत्र ल्याउन लागेका हुन् ।  श्वेतपत्र तयार गर्न सम्पूर्ण महाशाखा प्रमुखहरुलाई अर्थमन्त्री खतिवडाले मौखिक निर्देशन दिएका छन्। चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षालगत्तै श्वेतपत्र तयारीमा लाग्ने तयारी मन्त्रालयको छ। अर्थ मन्त्रालयले भ्याए भोली नभए पर्सी मध्यावधि समिक्षा सार्वजनिक गर्दैछ।
’मुलुकको वर्तमान आर्थिक अवस्था सार्वजनिक गर्नका लागि श्वेतपत्रको तयारी गर्न मन्त्रीज्यूले भन्नु भएको छ,’ अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव अर्जुनप्रसाद पोखरेलले भने, ’यसले अहिले हामी आर्थिक रुपमा कुन अवस्थामा छौँ भन्ने कुरा सार्वजनिक गर्छ भने भविष्यमा लिनुपर्ने कदम पनि थाहा हुन्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा विश्वासको मत लिए लगत्तै अर्थ मन्त्रालयले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको हो। श्वेतपत्र सार्वजनिक गर्ने यकिन मिति भने तय भैसकेको छैन। अघिल्लो सरकारका केही निर्णयका कारण राज्य कोषमाथि परेको व्ययभार र त्यसले स्रोत व्यवस्थापनका लागि लिनुपर्ने रणनीति तय गर्ने मन्त्री खतिवडाको योजना छ।
 कमजोर राजस्व असुली र पुँजीगत खर्च, वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य रकमको अभाव, उच्च व्यापार घाटा न्यूनीकरणको संभावित उपाय श्वेतपत्र मार्फ सार्वजनिक गर्ने तयारी खतिवडाको छ। अर्थ मन्त्रालयका अर्का एक अधिकारीले अहिले स्रोतको व्यवस्थापन चुनौतीपूर्ण भएकाले त्यसको रणनीति तयार गर्न मन्त्री खतिवडाले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए। चालु आर्थिक वर्षको अब बाँकी चार महिनामा खर्चको माग उच्च हुने भएकाले त्यसको व्यवस्थापन चुनौतीपूर्ण हुने उनको ठम्याई छ।
खतिवडाले अर्थमन्त्री नियुक्त हुनु अघि पनि सरकारले श्वेतपत्र सार्वजनिक गरी अर्थतन्त्रको वास्तविक चित्र सार्वजनिक गर्नुपर्ने बताएका थिए।यसअघि भारतीय नाकाबन्दी भूकम्पले प्रभावित अर्थतन्त्रको वास्तविक अवस्था साढे दुई वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका थिए।
 पौडेलले त्यतिबेला ६ प्रतिशत प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा गरिएकोमा त्यसलाई घटाएर २ प्रतिशत हासिल हुने अनुमान गरेका थिए ।यद्यपि आर्थिक वर्ष २०७२/०७३ मा ०.०१ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो। खतिवडाले अहिले सार्वजनिक गर्न लागेको श्वेतपत्रको संभावित स्वरुप सार्वजनिक गरेका छैनन्।