काठमाडौं, २२ फागुन । नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी मंगलबार अपराह्न स्वदेश प्रस्थान गरेका छन् । दुईदिने नेपाल भ्रमणमा सोमबार आएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी मंगलबार स्वदेश फर्किएका छन् । नेपाल अवतरण भएको साढे दुई घण्टापछि नै स्वागतस्वरुप गार्ड अफ अनर पाएका अब्बासीलाइ अन्तराष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थानका क्रममा पनि सुरक्षा कडाइमा कुनै कसर बाँकी राखिएन । पाकिस्तानी कर्मचारीले मौकामा चौका छोप्दै प्रविधिको प्रयोग पनि त्यत्तिकै मात्रामा गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई अर्थमन्त्री डा. युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरे । स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शिष्टाचार भेट गर्नाका साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यस्तै पाकिस्तानका प्रधानमन्त्री अब्बासीले मंगलबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरे । भ्रमणका क्रममा उनले आफ्ना नेपाली समकक्षी प्रधामन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।