मेडिकल एशोसिएसन र मेडिकल व्यवसायी संघबीच एकता

काठमाडौं, २२ फागुन । नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघबीच एकता भएको छ । नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघले मंगलवार संयूक्त पत्रकार सम्मेलन गर्दै गाम्का र वायोमेट्रिकको नाममा जारी सिण्डिकेट अन्त्यका लागि दुई संस्था एक भएको बताएका छन् । नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसनका निवर्तमान अध्यक्ष खड्गबहादुर श्रेष्ठले निजी क्षेत्रलाई स्वतन्त्र भएर काम गर्ने वातावरण मिलाउनका लागि सरकारसँग माग गरेका छन् । ‘बैदेशिक रोजगारमा जाने नेपालीहरुको स्वास्थ्य परिक्षणको लागि निजि क्षेत्रलाई भूमिका दिईएको छ,’ उनले भने, ‘तर सरकारले पनि ओभरट्याक गरेको छ । कि सरकारले निजि क्षेत्रलाई निरुत्साहित पार्नुपर्यो होईन भने हामीले गर्दै आएको पेशा व्यवासायलाई धरापमा पार्ने खालका कामहरु गर्नुभएन । सरकार आफैले गर्ने हो भने निजि क्षेत्रको लगानी फिर्ता गरोस् । ’
नेपाल मेडिकल व्यवसायी संघ निवर्तमान अध्यक्ष सिताराम रेग्मीले गाम्का र वायोमेट्रिकको नाममा रहेको सिण्डिकेट तत्काल अन्त्य हुने बताएका छन् । उनले भने, ‘नियम, कानूनले अन्त्य गरेको कुरा सिण्डिकेट पैसामा किनिएको छ । यसको आयू धेरै रहनेछैन् । म सबै व्यवसायी मित्रहरुलाई आग्रह गर्छु कि तपाईहरु कसैको आश्वासनमा नपर्नुहोला । पैसामा बिक्रि हुने काम नगर्नु होला । यो सिण्डिकेट तत्काल सकिन्छ ।’
उनले सिण्डिकेटले प्रत्यक्षरुपमा १० हजार मानिस प्रभावित भएको बताए । दुई संस्था नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघबीच एकतापछि बनेको ‘नेपाल बैदेशिक रोजगार मेडिकल व्यवसायी संघ’ले सिण्डिकेटको अन्त्यका लागि डटेर सामना गर्ने बताएको छ । एकीकृत संस्थाको कार्यकारी अध्यक्षमा दुवै संस्थाका अध्यक्ष रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एकीकृतपछि संस्थाको कार्यसमितिमा अध्यक्ष सिताराम रेग्मी, उपाध्यक्ष माधव गौतम, उपाध्यक्षमै विश्व शेरचन, महासचिव जय गुरुङ, सचिव नवराज पौडेल, कोषाध्यक्ष दिबाकर गौतम, सदस्यहरु लक्ष्मी श्रेष्ठ, खगेन्द्र कुमार सिंह, दिपक बाबु थापा, पम्फा श्रेष्ठ, हिराकुमारी श्रेष्ठ, सुर्यनारायण यादव, बेगम महरा, बाबिम राई, यमबहादुर तामाङ्, राजेन्द्र कुमार चौधरी र रमण गुरुङ रहने भएका छन् ।