नेपालमा यसरी बित्नेछन् पाकिस्तानी प्रधानमन्त्रीका २० घन्टा

फागुन २१, काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी दुई दिने औपचारिक भ्रमणका लागि आज अपरान्ह नेपाल आउँदै छन्।

दिउँसो सवा तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अब्बासीलाई अर्थमन्त्री युवराज खतिवडाले स्वागत गर्ने छन्।

प्रधानमन्त्री अब्बासी विमानस्थलबाट सोझै बौद्धमा रहेको हयात होटल जानेछन्। राति पनि उनी सोही होटलमा बस्ने छन्।

साँझ साढे पाँच बजे सैनिक मञ्च टुँडिखेलमा अब्बासीलाई गार्ड अफ अनर दिइनेछ। विमानस्थलको साटो टुँडिखेलमा गार्ड अफ अनर दिइने अब्बासी पहिलो विदेशी पाहुना हुन्। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार अब्बासी सैनिक मञ्चबाट होटल याक एण्ड यति जानेछन्। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उनको सम्मानमा रात्रीभोज आयोजना गरेका छन्।

सोही होटलमा प्रधानमन्त्री ओली र अब्बासीबीच द्वीपक्षीय भेट हुनेछ।

डिनर सकेर अब्बासी फेरि होटल हयात पुग्नेछन्।

सोमबार बिहान पौने ९ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ र अब्बासीबीच होटलमै भेट हुनेछ।

‘बिहान १० बजे उहाँ राष्ट्रपतिज्यूलाई भेट्न शितल निवास जाने र ११ बजे स्वदेश फर्कने कार्यक्रम छ,’ परराष्ट्रका शिष्टाचार महापाल दीपक अधिकारीले भने।

प्रधानमन्त्री अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन नेपाल आएको बताइएको छ।