उपप्रधानमन्त्री नरहने, संघीय समाजवादी फोरम पनि सरकारमा जाने

फागुन १५, काठमाडौं -पहिलो कार्यकालमा ६ जनासम्म उपप्रधानमन्त्री राखेका प्रधानमन्त्री केपी ओलीले यस पटक सरकारमा उक्त पदै नराख्ने निर्णय लिँदै एमाले र माओवादी केन्द्रका चार मन्त्री सामेल गरी सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उपप्रधानमन्त्री नराख्ने भएपछि यसअघि उपप्रधानमन्त्री भइसकेका एमाले महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको वरीयताक्रममा रहने गरी रक्षामन्त्री बनेका छन् ।

अर्थविद्समेत रहेका पूर्वगभर्नर युवराज खतिवडालाई ओलीले अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।

माओवादीतर्फबाट रामबहादुर थापाले गृह र मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान छलफलपछि दिउँसो चार जना मन्त्री पठाउने सहमति भएको थियो ।

सरकारको पक्षमा दुई तिहाइ समर्थन जुटाउने प्रयोजनका लागि संघीय समाजवादी फोरमलाई समेत ल्याउने प्रयास सकारात्मक बनेपछि प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद्लाई पूर्णता नदिएका हुन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।