‘भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुँदैन – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताए । ‘सरकारी कार्यालयका टेवलै पिच्छे फाइल अलमलिने प्रथा अब अन्त्य हुन्छ’, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधरणका काममा ढिलाई गरेछन् भने त्यसमा पनि उचित छानबिन हुन्छ ।’

‘कमिशनखोरीका भरमा लाइसेन्स दिने, लिने, समयमा काम नसक्ने र बिना कारण म्याद थप्ने थपाउनेलाई तत्काल कारबाही हुन्छ’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शून्य सहनशिलताको नीति लिने बताए। ‘सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध छ’, प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुँदैन। त्यसकारण स्थिर सरकारको अनुभूत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।’

उद्योग वाणिज्य महासंघसँग सरकार सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । ‘उद्यमी व्यवसायीसँग मिलेर देश बनाउन सरकार तयार छ’, ओलीले भने, ‘सरकारबाट पाउन सक्ने सहजता तपाईंले पाउनु हुन्छ । बिना सर्त मुलुक निर्माणमा सबै जुटौं ।’
अन्नपूर्णबाट