दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

 

फागुन ११, दमौली – फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा सहचालकविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरेको छ । काठमाडौं जाने भनी दाङको लमहीबाट ना ५ ख ५३६८ नम्बरको बसका चालक तथा सहचालकले काठमाडौं नलगी आँबुखैरेनी गाउँपालिका वडा २ ऐनापहरामा पुर्याएर बस भित्रै बलात्कार गरेको उजुरी पीडितले दिएकी थिइन् ।

सुरुमा बसमा धेरै मानिस भएको तर मुग्लिनमा सबै झरेपछि बस मोडेर आँबुखैरेनीको ऐनापहरातर्फ मोडेको खुलेको छ । युवतीले बस मोडेको थाहा नपाउँदा फसेको प्रहरीको भनार्इ छ । युवतीले घटनाको भोलिपल्ट मौखिक उजुरी दिएपछि तनहुँ प्रहरीले दोषीको खोजतलास थालेको र चालक तथा सह चालक दुवैलाई चितवनको नारायणगढबाट पक्रिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

खोजतलास पश्चात बसका चालक लमजुङ राईनास नगरपालिका ८ घर बताउने ३३ वर्षका बिष्णु सापकोटा तथा सह चालक दाङ बिजौरिया १ स्थायी घर बताउने ३४ वर्षका वेदराज डाँगी विरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि थुनामा राखिएको प्रहरी उपरीक्षक जोशीले बताए। उनीहरु विरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जोशीले बताए । साँझको समयमा चालक र सहचालकले बन्धक बनाएर बलात्कार गरेपछि युवतीलाई त्यही छोडेका थिए।
अन्नपूर्णबाट