मन्त्रालयको टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाई

फागुन १०,काठमाडौं – नेकपा माओवादी केन्द्रले बुधबार पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गर्न सकेन । माओवादीले मन्त्रीको नाम सिफारिस गर्न बुधबार दिउँसो केन्द्रीय सचिवालयको बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेको थियो । दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालले स्थगित गरेका थिए । बिहान प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल मन्त्रालय बाँडफाँड र संख्याबारे टुंगो लगाउन बैठक बसेका थिए । ओली र दाहालले मन्त्रालयबारे टुंगो लगाउन थप छलफलको आवश्यकता रहेको भन्दै निष्कर्ष निकाल्न सकेका थिएनन् । अधिकतम १८ सदस्यीय मन्त्रीपरिषद बनाउने विषयमा दुई नेता बीच छलफल भएको जनाइएको छ । माओवादीले ६ जना मन्त्री पाउने छलफल भए पनि यसबारे टुंगोमा नपुगेको एक माओवादी नेताले बताए ।

सरकारमा मन्त्री पठाउने तयारी गरे पनि मन्त्रालय टुंगिन नसकेकाले ढिलो भएको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘मन्त्रालय टुंगिन ढिलो भएकाले सरकारमा जान पनि ढिलो भएको हो’, भुसालले भनिन्, ‘मन्त्रालयको टुंगोसँगै सरकारमा जाने नेताहरुको नाम पनि टुंगो लाग्छ ।’

पार्टी एकताको प्रारम्भिक आधार तय गरिसकेका एमाले र माओवादीले सरकार विस्तारमा ढिलो गर्दा राम्रो सन्देश नजाने भन्दै छिटो यो विषयलाई टुंगो लगाउने तयारी गरिरहेको ओली निकट स्रोतको भनाई छ। माओवादीले राम बहादुर थापाको नेतृत्वमा सरकारमा पठाउने तयारी गरेको छ । यस्तै वर्षमान पुन, मातृका यादव, पम्फा भुसाल, लेखराज भट्ट, देवन्द्र पौडेललाई माओवादीले सरकारमा पठाउने तयारी गरेको माओवादी निकट स्रोतले बतायो।
नागरिकबाट