नवराज सिलवाल वालुवाटारबाट सार्वजनिक !

फागुन ८ , काठमाडौं – प्रहरीले निरन्तर खोजी गर्दा पनि पक्राउ पर्न नसकेका पूर्वडिआईजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद नवराज सिलवाल प्रधानमन्त्री निवास बालुवाटारमा भेटिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित सिलवाल प्रधामन्त्री केपी शर्मा ओलीलाई भेट्न सोमवार साँझ बालुवाटार पुगेका हुन् । उनलाई ओली नेतृत्वको सरकारमा सम्भावित मन्त्रीका रुपमा पनि हेरिएको छ ।

आईजीपीमा बढुवाका लागि कीर्ते कागजात पेश गरेको अभियोगमा सिलवाललाई प्रहरीले लामो समय देखि खोजिरहेको थियो । प्रहरीले निरन्तर खोजी गरिरहे पछि उनी केही महिनायता अर्धभूमिगत जस्तै थिए । शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा सिलवाललाई पक्रन प्रहरीको ठुलो टोली ललितपुरका गोदावरी सहितका क्षेत्रमा परिचालित गरिएको थियो । तर उनी पक्राउ पर्न सकेनन् । उनी माथि मुद्दा चलाउने देउवा सरकारको प्रयास पनि विफल भएको थियो ।

मुद्दा दर्ता गर्ने कोशिश हुँदा हुँदै देउवा सरकार बिदा भयो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएसँगै उनी बालुवाटारमै देखा परेका हुन् । आईजीपी बढुवाका लागि पहिलो वरियतामा रहेका भनिएका सिलवाललाई देउवा सरकारले रोकेसँगै उनी प्रहरीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरे लगत्तै उनलाई एमालेले ललितपुर १ बाट प्रतिनिधि सभाका लागि टिकट दिएसँगै विजयी भए पछि उनी फरार थिए ।