सरकारले सामाजिक, आर्थिक रुपान्तरणका लागि काम गर्ने

फागुन ७, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारका लागि दुई पार्टीका नेता सम्मिलित कार्यदलले कामका प्राथमिकताहरु निर्धारण गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका प्राथमिकता सहितको प्रतिवेदन बुझाएको हो ।

सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा दुई अध्यक्ष सहित बसेको कार्यदलको बैठकले दुई पार्टीको संयुक्त चुनावी घोषणा पत्र र संविधानको भावना अनुसार आफ्ना कामका प्राथमिकता तय गरेको छ । एमाले उपाध्यक्ष तथा कार्यदलका संयोजक वामदेव गौतमले ओली नेतृत्वको वाम सरकारले समाजवादोन्मुख सामाजिक आर्थिक रुपान्तरणका लागि काम गर्ने भएको छ ।

दुई दलले आफ्नो चुनावी घोषणापत्रमै आफूहरुलाई समाजवादोन्मुख यात्राका लागि अघि बढाउँदै देशमा सामाजिक आर्थिक विकासलाई तीब्र बनाउने जोड दिएको थियो । ‘अब यो सरकारले खरायोको गतिमा काम गर्नु जरुरी छ’, उपाध्यक्ष गौतमले भने, ‘तीब्र गतिमा देश विकास गर्न सकेमा मात्रै आर्थिक सामाजिक सम्मुनति सम्भव छ । त्यसका लागि अर्बौँ लगानीका ठुला परियोजनामा हात हाल्नु जरुरी छ ।’
अन्नपूर्णबाट