प्रदेश ३ को सरकारमा केशव स्थापित मन्त्री बन्ने पक्का

माघ २९,मकवानपुर –  प्रदेश ३ को सरकारमा केशव स्थापित मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार विहान सपथ लिएका छन् । अब मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ । पौडेल निकट स्रोतका अनुसार एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भएको छ ।

तर, माओवादी केन्द्रले मन्त्रीको नाम नदिएका कारण मन्त्रीहरुको सपथ तय हुन सकेको छैन ।

माओवादी केन्द्रले संसदीय दलका नेता शालिकराम जम्मरकट्टेललाई मन्त्री बनाउने तयारी गरेको छ । तर, मन्त्रालयमा सहमति हुन नसक्दा नाम दिएको छैन ।

जम्मरकट्टेलले भने पार्टी एकताबारे ठोस सहमति नभएकाले मन्त्रीको नाम नदिएको बताए ।

तर, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आफ्नो दाबी रहेको उनले स्वीकार गरे ।