ओली र प्रचण्ड बीच सवा घन्टा वान टु वान वार्ता

माघ २६, काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच एक घन्टा बढी ‘वान टु वान’ वार्ता भएको छ । भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष ओली र प्रचण्ड बीच ललितपुरको मानभवनको एक घरमा करिब सवा घन्टा ‘वान टु वान’ वार्ता भएको हो ।

भेटवार्तामा पार्टी एकता, नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । पेरिसडाँडाबाट निवास तर्फ फर्किर्दै गर्दा ओली र प्रचण्ड बीच भेटवार्ता तय भएको थियो । दुवै नेताले सहयोगी समेत नलगी मानभवनको एक घरमा भेटवार्ता गरेका हुन् । प्रचण्ड र ओलीको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा वाम गठबन्धन बनाएर सफलता पाएका दुई शीर्ष नेताले पार्टी एकताको प्रक्रियालाई औपचारिक रुपमा अगाडि बढाउन नसकेको भन्दै आलोचना भइरहेका बेला भएको यो भेटलाई महत्वका साथ हेरिएको छ । दुई पार्टी एकताका लागि बनेको संयोजन समितिले एकताका विषयमा निर्णय गर्ने जिम्मा ओली र प्रचण्डलाई दिइसकेको छ ।
अन्नपूर्णबाट