किन भएन बिगतमा एमाले माओवादी एकता ? गौतमले गरे यस्तो खुलासा..!

माघ २३, काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता छिट्टै हुने बताएका छन् । प्रेस चौतारी नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै गौतमले दुई पार्टी बीच ६ पटक सम्म एकता प्रयास भइसकेको पनि खुलासा गरेका छन् । उनले एकतामा देखिएका समस्या समाधान गर्न अहिले दुई पार्टीका अध्यक्ष लागिरहेको पनि बताए । गौतमले वाम एकता नभएमा नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो दुर्घटना हुने चेतावनी पनि दिएका छन् ।

‘अहिले पनि कम्युनिष्ट पार्टी एक भएनन् भने नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो दुर्घटना हुनेछ’, नेता गौतमले भने । उनले आफ्नो ६ पटकको प्रयासपछि वाम एकता अहिलेको अवस्थामा पुगेको पनि दाबी गरे । माओवादीले १० वर्ष लामो सशस्त्र संघर्षको बाटो त्यागेर शान्ति प्रक्रियामा आए देखि आफुले पार्टी एकता प्रयास थालेको पनि उनको भनाई छ । तर पहिलो पटकको एकता प्रयास पुरा समय वार्ता पनि नभई भाँडिन पुगेको पनि गौतमले खुलासा गरे ।

पहिलो पटक ०६३ सालमा एकताका लागि मलाई र बिष्णु पौडेललाई पार्टीले जिम्मेवारी दियो । पछि महासचिवजीले पनि कार्यदलमा बस्ने इच्छा गर्नुभयो र कार्यदलमा उहाँलाई राखियो, गौतमले पहिलो एकता प्रयासबारे भने, माओवादीबाट मोहन वैद्य‘किरण’ हुनु हुन्थ्यो, किरणले नीति सिद्धान्तको एकरुपताको कुरा गर्नुभयो, हाम्रा महासचिवले पनि त्यसैमा हँ हँ गर्नुभयो । अनि एकता वार्ता त्यतिकै स्थगित भयो, पहिलो प्रयास सफल हुन पाएन ।’ नेता गौतमले एकतामा एमालेको ठूलो जिम्मेवारी रहेको बताए । एकतामा एमाले गम्भीर भएर लाग्नु पर्छ, माओवादीले नलाग्ने भन्ने त होइन तर हामी ठुलो पार्टी हो, उनले भने, त्यसकारण हाम्रो जिम्मेवारी ठूलो हुन्छ ।’

अन्नपूर्णबाट