मोदीको सन्देश बोकेर सुष्मा स्वराज आज आउँदै

माघ १८,काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज आज अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि आउन लागेकी उनीसँग नवनियुक्त विदेश सचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् ।

कूटनीतिक स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको हो । अपराह्न साँढे ३ बजे विदेशमन्त्री स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनलाई विमानस्थलमा परराष्टसचिव शंकरदास बैरागी र भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीले स्वागत गर्नेछन् । स्वराजले विहीवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रात्रीभोज सहित भेटवार्ता गर्ने कार्यक्रम छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र मधेशी दलका नेतासँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री स्वराजले शुक्रवार प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको देउवाका विदेश मामिला सम्बन्धी सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीसँग भेटवार्ता पछि शीतल निवास गएर स्वराजले राष्टपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट मन्त्रालयले बुधवार विज्ञप्ति जारी गरी स्वराजको भ्रमण हुन लागेको औपचारिक जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले भने सोमवारै स्वराजको भ्रमण सार्वजनिक गरिसकेको छ । परराष्ट मन्त्रालयको भारत डिभिजन प्रमुख भृगु ढुंगानाले राष्टपति र प्रधानमन्त्रीसँग भेटवार्ताका लागि मन्त्रालयले सहजीकरण गरेको तर राजनीतिक नेतृत्वसँगको भेटवार्ताबारे थाहा नभएको बताए ।                  नयाँपत्रिकाबाट