जनवरी १ मा नेपाली टोपी दिवस मनाईदै (भिडियोसहित)

पुस १६,काठमाडौं –  विगतका बर्ष झै यो बर्ष पनि नेपाली टोपी दिवस मनाईने भएको छ । नेपाली टोपी, नेपालको पहिचान’ भन्ने मुल नाराका साथ विगत चार बर्षदेखि मनाइदै आएको नेपाली टोपी दिवस यसबर्ष काठमाडौको माईतीघर मण्डलामा प्रभातफेरिका साथ विभिन्न कार्यक्रम गर्दै मनाइने भएको छ ।

आज एक प्रेस विज्ञप्ति जारि गर्दै जागरुक युवा अभियानले जनवरी १ तारीकाको विहान ७ काठमाण्डौको माइतीघर मण्डलामा अभियानको कार्यक्रममा सहभागि हुन सबैलाई आव्हान समेत गरेको छ ।

बिश्वमा हरेक मुलुकको आ–आफ्नो मौलिक पहिचान छ । तर नेपाल र आम नेपालीलाई बिश्व समुदायमाझ चिनाउदै आएको एउटै मात्र पोशाक दौरा सुरुवाल टोपी र गुन्यू चोलोलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएको राष्टिय पोषाकको समर्थनमा जागरुक युवा अभियानका सदस्य लगायत देशभरका राष्ट्रप्रेमी युवा लागिपरेका छन् ।
जागरुक युवा अभियानले हरेक अंग्रेजी नयाँ बर्षका दिनलाई नेपाली टोपी दिवसकारुपमा मनाउने गरेका छन् । यो बर्ष ‘नेपाली टोपी, नेपालको पहिचान’ भन्ने नारासहित पाँचौ नेपाली टोपी दिवसकारुपमा मनाउन लागिएको जागरुक युवा अभियानका अभियन्ताहरुले बताएका छन् ।

अभियन्ताहरुले सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाऔ नभए नेपाली टोपी अवष्य लगाऔ भन्दै विगतदेखि नै नेपालीलाई चिनाउदै आएको ढाकाटोपी, कालोटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गरेका छन । त्यस दिन सबैले आ (आफ्नो ठाउँमा नेपाली टोपी दिवसका कार्यक्रमहरु आयोजना गर्न र सम्भव हुनेजतिलाई राजधानीको माइतीघरमा हुन गईरहेको कार्यक्रममा राष्ट्रिय पोशाक दौरा सुरुवाल अथवा नेपाली टोपी लगाएर सहभागिता जनाउन जागरुक युवा अभियानले अपिल गरेको छ ।