अनुगमनमा पाइयो ११ उद्योगका घिउ र तेल खान अयोग्य

 

पुस १४, काठमाडौँ- देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराका एग्रो प्रोसेसिङ उद्योग, दुर्गा मोडर्न आयल मिल, आरती भेजिटेबल प्रोडक्ट उद्योग, रूपन्देहीका सिद्धार्थ रिफाइनरी एन्ड सोलभेन्ट इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ आयल इन्डस्ट्रिज, ललितपुरको श्रीराम घिउ प्याकेजिङ उद्योग, सुनसरीको दुहवी स्थित स्वस्तिक आयल इन्डस्ट्रिज, पोखराको सुजल डेरी लगायतले उत्पादन गरेका घिउतेल खान योग्य नरहेको जनाएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार यस्ता तेलको प्रयोगले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, पाचन प्रणाली, कलेजो र मिर्गौला सम्‍बन्धी रोग लाग्न सक्छ । ‘न्यून गुणस्तर र दूषित ठहरिएका खाद्य पदार्थ, तेलजन्य र पेयजन्य वस्तु सके सम्म प्रयोग नगरेको बेस हुन्छ, यस्तो वस्तु मानव स्वास्थ्यका लागि निकै हानिकारक र खान अयोग्य मानिन्छ, विभागद्वारा बिहीबार आयोजित चौमासिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा महानिर्देशक कर्णले भने, ‘तेलमा पाइने प्रतिकूल तत्वहरूले अन्य विभिन्न प्रकारका घातक रोग निम्त्याउन सहयोगी भूमिका खेल्छन् । खासगरी निकै पुराना र मिसावट गरिएका तेलमा यस्तो समस्या देखिन्छ।

मानव स्वास्थ्यलाई हानि पुर्‍याउने गरी दूषित र न्यून गुणस्तरको खानेतेल तथा घिउ उत्पादन गरेको अभियोगमा सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ११ उद्योगविरुद्ध १६ वटा मुद्दा समेत दायर गरेको छ। गत आर्थिक वर्ष २०७३,७४ मा कुल दुई सय ५७ वटा यस्तै प्रकृतिका मुद्दा दायर गरिएको थियो ।
अन्नपूर्णबाट