राष्ट्रियसभा सदस्यका लागि दल दर्ता गर्न आयोगको आह्वान

पुस १४, काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश जारी नहुँदै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले १५ दिन भित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको हो ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, ०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनु पर्ने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न गरी सङ्घीय संसद्को निर्माण गर्ने क्रममा निकट भविष्यमै हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ताका लागि आह्वान गरेको हो ।
गोरखापत्रबाट