स्याङ्जामा नेपाली कांग्रेसको बैठकमै कुटाकुट

 

पुस ११, स्याङ्जा – निर्वाचनको समिक्षा गर्न वालिङमा बसेको बैठकका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता बीच कुटाकुट हुँदा तीन जना गम्भिर घाइते भएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ द्वारा सोमबार आयोजित चुनावी समिक्षा बैठकमा कुटाकुट हुँदा नेताहरु भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भएका हुन् ।

घाइते मध्ये भेषराज अर्यालको काठमाडौं स्थित बयोधा अस्पताल, कमल ढकालको पोखरा स्थित गण्डकी मेडिकल हस्पिटल र सुशीलको स्याङ्जामा उपचार भइरहेको छ । वालिङको पतञ्जली हलमा जारी समिक्षा बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहयोग नगरेकाले कांग्रेसका उम्मेदवार पराजित भएको भन्दै उनीहरु माथि हातपात गरिएको घाइते भेषराज अर्यालका भाइ शोभाकान्त अर्यालले जानकारी दिए ।

कांग्रेसको राम्रो पकड भएको त्यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै वाम गठबन्धनका उम्मेदवारले ३७ सय भन्दा बढी ल्याई विजयी भएका थिए । अनपेक्षित मत परिणाम आएपछि अन्तर्घातका कारण पराजय भोग्नु परेको कुराले कांग्रेसबृत्तमा विवाद चल्दै आएको छ । अन्नपूर्णबाट