धुर्मुस- सुन्तलीको चौथो नमुना बस्तीलाई २ करोड पुगेन

 

पुस ११,रौतहट – जिल्लाको चन्द्रपुर स्थित सन्तपुरमा निर्माणाधीन सन्तपुर नमुना बस्तीलाई अझै २ करोड रुपैयाँ अपुग भएको धुर्मुस-सुन्तली फाउन्डेनले जनाएको छ । समाजसेवी तथा हाँस्यकलाकारद्धय सिताराम कट्टेल‘ धुर्मुस’ र कुन्जना घिमिरे‘ सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सकिए पनि अझै रकमको अभाव भएको हो । असोज २८ गतेबाट कम्पाउण्ड वालबाट निर्माण सुरु गरिएको बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै अन्तिम चरणमा पुगेको छ । बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, धाराहरु, सार्बजनिक शौचालय, भ्यु टावर, स्कुल र बगैंचा लगायतका संरचना निर्माण भइरहेका छन् ।

बस्ती निर्माणका लागि ५ करोड ९५ लाख लागत अनुमान गरिएको थियो । तर अनुमानित लागत भन्दा धेरै खर्च हुने अवस्था देखिएको धुर्मुसले बताएका छन् । बस्ती निर्माणका लागि दैनिक २६१ जना कामदार खटिएका छन् । निर्माणको काम बिहान ६ बजे देखि सुरु भएर साँझ जारी रहन्छ । चाड पर्वमा समेत काम रोकिएको छैन भने कामदारका लागि चाडपर्व पनि धुर्मुस सुन्तली बस्तीमै मनाउने व्यवस्था गरेका छन् । उनीहरुले निर्माण गर्दै गरेको यो चौथो एकिकृतवस्ती हो । यस अघि काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीमा उनीहरुले यस्तो काममा सफलता पाईसकेका छन् ।
अन्नपूर्णबाट