पुस ४,काठमाडौं – सोमबार बसेको माओवादी केन्द्रको बैठकले राष्ट्रिय सभा गठनबारे देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यालयको बैठकमा यस्तो निष्कर्ष निकालेको हो। ‘राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय हो। यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ’, प्रवक्ता पम्फा भुसालले भनिन्, ‘शीर्ष नेताहरु बसेर सहमति खोज्नु पर्ने निष्कर्ष निकालेका छौं, त्यसै अनुसार अघि बढ्छौं ।’
बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कुटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद दिएको छ । सोमबार बसेको बैठकले वाम गठबन्धन बनाएर चुनावमा होमिँदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ। बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ।
अन्नपूर्णबाट